देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, चट्याङ्गबाट सतर्क रहन आग्रह
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश क्षेत्रमा बादल लागेको छ भने केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुने जनाएको छ।
साथै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसममा आएको बदलीसँगै दैनिक जनजीवन, कृषि तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचनामा ध्यान दिन आग्रह गरिएको छ।







