५५ वर्ष उमेर र ३० वर्षे सेवा अवधि लागू गर्ने तयारी, १० हजार कर्मचारी अवकाशमा जान सक्ने

User Image Prime TV News एक घण्टा अगाडि
Image of ५५ वर्ष उमेर र ३० वर्षे सेवा अवधि लागू गर्ने तयारी, १० हजार कर्मचारी अवकाशमा जान सक्ने

काठमाडौ । सरकारले संघीय निजामती सेवा सम्बन्धी कानुन संशोधन गर्दै ठूलो संख्यामा कर्मचारीलाई एकैपटक अवकाशमा पठाउने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने व्यवस्था ल्याउनेबारे छलफल भइरहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको निजामती विधेयकको मस्यौदामा यस्तो प्रस्ताव समावेश गरिएको स्रोतहरूले बताएका छन्। उक्त प्रस्ताव हाल कानुन मन्त्रालय र अर्थ मन्त्रालय मा छलफलको क्रममा रहेको जनाइएको छ।

प्रस्ताव लागू भएमा करिब १० हजार कर्मचारी एकैपटक अवकाशमा जान सक्ने अनुमान गरिएको छ। हाल संघ, प्रदेश र स्थानीय तह गरी निजामती सेवामा ८५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। स्रोतका अनुसार नियमित अवकाशको उमेर ६० वर्ष कायम राख्ने तर एकपटकका लागि विशेष व्यवस्था लागू गरी ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेकाहरूलाई अवकाश दिने विकल्पमाथि छलफल भइरहेको छ।

यो व्यवस्था लागू भएमा हाल कार्यरत करिब ७० सचिवमध्ये ५२ जना प्रभावित हुन सक्ने बताइएको छ। त्यस्तै ठूलो संख्यामा सहसचिव र उपसचिवहरू पनि अवकाशमा जाने सम्भावना छ। मस्यौदामा प्रारम्भिक रूपमा यस्तो व्यवस्था नरहेको भए पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको प्रस्तावपछि विषय अघि बढेको बताइएको छ।

यद्यपि सरकारबाट यस विषयमा औपचारिक निर्णय भइसकेको छैन। कर्मचारी संगठनहरूले पनि प्रस्तावबारे सार्वजनिक धारणा बनाइसकेका छैनन्। विगतमा निजामती सेवा विधेयकका विभिन्न प्रावधानलाई लिएर कर्मचारीहरूले विरोध गर्दै आएका थिए।

सरकारले निजामती प्रशासनमा पुनर्सरचना, कार्यक्षमता वृद्धि र प्रशासनिक सुधारको उद्देश्यले नयाँ व्यवस्था ल्याउन खोजेको बताइए पनि यसले राज्यको आर्थिक दायित्व र कर्मचारी व्यवस्थापनमा ठूलो प्रभाव पार्न सक्ने भएकाले विषयलाई चासोका साथ हेरिएको छ।