बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदको वेल घेराउ
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको वेल घेराउ गर्दै नाराबाजी गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्न समय नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको धारणा प्रस्तुत गरेका थिए। त्यसपछि विभिन्न प्रतिपक्षी दलका नेताहरूले आफ्नो भनाइ राखेका थिए।
यस क्रममा भीष्मराज आङ्देम्बे, रामबहादुर थापा, प्रमेश हमाल तथा ज्ञानेन्द्र शाहीले धारणा व्यक्त गरेका थिए। तर सभामुख डोलप्रसाद अर्याल ले श्रम संस्कृति पार्टीको तर्फबाट बोल्ने नाम सूचीमा नरहेको भन्दै समय नदिएपछि उक्त पार्टीका सांसदहरू असन्तुष्ट बनेका हुन्।
विरोधस्वरूप सांसदहरूले संसदको वेल घेराउ गर्दै नाराबाजी गरेका छन्। यद्यपि उनीहरूको विरोधकै बीच सभामुखले बैठकको कार्यवाही अगाडि बढाइरहेका छन्। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर संसदमा सत्ता र प्रतिपक्षबीच विवाद जारी रहेका बेला श्रम संस्कृति पार्टीले पनि प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने अडान राख्दै आएको छ।







