प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार छ: भीष्मराज आङ्देम्बे

User Image Prime TV News २ घण्टा अगाडि
Image of प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार छ: भीष्मराज आङ्देम्बे

काठमाडौ । प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको “नेपालले पनि भारतको भूमि मिचेको” भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवार, आपत्तिजनक र लज्जास्पद भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा बोल्दै आङ्देम्बेले उक्त अभिव्यक्तिपछि सत्तारुढ दलका सांसदहरूले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गरे। उनले रास्वपाका सांसदहरूलाई लक्षित गर्दै प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको दिन उनीहरूलाई निद्रा लाग्यो कि लागेन भन्ने प्रश्नसमेत गरे। “नेपालले भारतको सीमा मिचेकै हो भन्दा १८१ हातले गडगडाहट ताली बजाउनुभयो,” उनले भने, “मलाई भने त्यो आवाजले आजसम्म पनि निद्रा आउन दिएको छैन।”

आङ्देम्बेले सत्ताको समर्थनमा केही सांसदहरू मौन बसेको आरोप लगाउँदै उनीहरूको “ओठ सत्ताको टेपले टालिएको” टिप्पणी गरे। उनले बहुमतको समर्थनले कुनै पनि अभिव्यक्तिलाई सत्य प्रमाणित गर्न नसक्ने बताए। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा जारी विवादतर्फ संकेत गर्दै उनले “जतिसुकै रफु भरे पनि, जतिसुकै विशेषण थपे पनि प्रधानमन्त्रीले भनेको कुरा यही हो” भन्दै आलोचना गरे।

उनले केही सांसदहरू नेपालले मिचेको भूमि खोज्नतर्फ लागेको व्यंग्य गर्दै सीमा सम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट र जिम्मेवार हुनुपर्ने मागसमेत गरे। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसदमा सत्ता र प्रतिपक्षबीच बहस जारी छ भने विपक्षी दलहरूले अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

आङ्देम्बेले रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा सीमा सम्बन्धी विषय नउठाएको भन्दै आपत्ति जनाएका छन्। आङ्देम्बेले लामिछानेले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादका विषयमा कुनै चर्चा नगरेको आरोप लगाए।

उनले सीमा सम्बन्धी विषय “ढोल बजाएर छलफल गर्ने विषय होइन” भन्ने लामिछानेको अभिव्यक्तिप्रति पनि असहमति व्यक्त गरे। सीमा समस्या संवेदनशील विषय भए पनि त्यसलाई उचित कूटनीतिक माध्यमबाट उठाउनुपर्ने उनको भनाइ थियो।

“दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो?” भन्दै आङ्देम्बेले प्रश्न गरे। उनले सीमा विवादबारे छलफल गर्न निश्चित प्रक्रिया र मापदण्ड हुने भए पनि त्यसलाई पूर्ण रूपमा बेवास्ता गर्न नहुने बताए।

नेपाल–भारत सीमा विवाद, विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका विषय लामो समयदेखि दुई देशबीचको संवेदनशील कूटनीतिक एजेन्डाका रूपमा रहेका छन्। आङ्देम्बेको टिप्पणी पनि सोही विषयलाई लिएर आएको हो। संसदमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी बहसकै क्रममा कांग्रेस नेताले लामिछानेको भारत भ्रमणको प्रसंग उठाएका हुन्।