प्रधानमन्त्रीको अभिव्यक्ति सीमाक्षेत्र अतिक्रमणसँग सम्बन्धित थियो : परराष्ट्रमन्त्री खनाल

User Image Prime TV News एक घण्टा अगाडि
Image of प्रधानमन्त्रीको अभिव्यक्ति सीमाक्षेत्र अतिक्रमणसँग सम्बन्धित थियो : परराष्ट्रमन्त्री खनाल

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले १७ जेठमा संसदमा दिएको “नेपालले पनि भारतको भूमि मिचेको” भन्ने अभिव्यक्ति सीमाक्षेत्र अतिक्रमण र सीमापार अतिक्रमण (क्रस बोर्डर अकुपेसन) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीले उठाएको विषय दशगजा क्षेत्रको अतिक्रमणसँग सम्बन्धित रहेको बताए। उनले नेपाल–भारत सीमा सम्बन्धी विषयहरू कूटनीतिक माध्यम र द्विपक्षीय वार्ताबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी सार्वजनिक गरिसकेको पनि उनले बताए। मन्त्री खनालले नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यसअघि नै सार्वजनिक भइसकेको स्मरण गराए।

उनका अनुसार उक्त विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो र त्यसको जवाफ पनि प्राप्त भइसकेको छ। दुवै देशले सीमा सम्बन्धी विवादहरू आपसी संवाद र कूटनीतिक प्रक्रियामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्रीको स्पष्टीकरणपछि पनि संसदमा विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै थप स्पष्टता र प्रधानमन्त्रीको प्रत्यक्ष जवाफको माग गरेका छन्।