परराष्ट्रमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दलहरू सहमत
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा विपक्षी दलहरूले परराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने सहमति गरेका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग भएको छलफलपछि विपक्षी दलहरू मन्त्री खनाललाई संसदमा जवाफ दिन दिने निर्णयमा पुगेका हुन्। यद्यपि विपक्षीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग भने यथावत राख्ने बताएका छन्।
प्रधानमन्त्रीले “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाउँदै आएका थिए। सोही विषयमा आज रास्वपा सभापतिसँग विपक्षी दलबीच छलफल भएको हो। यसअघि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पछि २ बजेका लागि सारिएको थियो। तर समाचार तयार पार्दासम्म बैठक सुरु हुन सकेको छैन।
सभामुखसँग विपक्षी दलका नेताहरूबीच पनि छलफल जारी रहेको बताइएको छ। सहमति बनेपछि मात्र संसदको नियमित कार्यसूची अघि बढ्ने सम्भावना रहेको छ।







