प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश निर्वाचन प्रक्रिया अस्थायी रूपमा स्थगित
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको स्पष्ट पारेको हो। यसअघि मंगलबारदेखि सुरु भएको निर्वाचन प्रक्रिया बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो।
तर अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्दै फैलिएको गलत सूचनाका कारण केही प्रतिनिधिहरू मतदान स्थलबाट फर्किएको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार मतपत्र तथा मतदाता नामावलीमा देखिएका केही त्रुटिहरू सच्याउने, मतदाता सूचीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने तथा करिब ४०० जनाको समायोजन सूचीमा उठेका उजुरी र विवादहरूको समाधान गर्ने उद्देश्यले निर्वाचन प्रक्रिया रोकिएको हो।
उनका अनुसार प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचनलाई व्यवस्थित र सहज बनाउने तयारी भइरहेको छ। भ्रमपूर्ण सूचनाका कारण मतदान स्थलबाट फर्किएका प्रतिनिधिहरूलाई पुनः मतदान प्रक्रियामा सहभागी हुन पर्याप्त समय प्रदान गरिने आयोगले जनाएको छ। निर्वाचन प्रक्रिया छिट्टै पुनः सुरु गर्ने तयारी भइरहेको पनि जनाइएको छ।







