इजरायल रोजगारीको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । इजरायल रोजगारी कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ।
परीक्षा सञ्चालनको जिम्मेवारी पाएको सीआईआईएन इन्टरनेशनल क्वालिफिकेसन्सले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित रहने जनाएको हो। संस्थाले बुधबार सूचना प्रकाशित गर्दै अप्रत्याशित परिस्थिति उत्पन्न भएकाले परीक्षा सञ्चालन गर्न नसकिएको उल्लेख गरेको छ। नयाँ मिति र समयबारे पछि जानकारी गराइने सूचनामा जनाइएको छ।
परीक्षा व्यवस्थापनलाई लिएर पछिल्ला दिनहरूमा परीक्षार्थीहरूबाट व्यापक असन्तुष्टि व्यक्त हुँदै आएको थियो। परीक्षा केन्द्रमा अत्यधिक भीडभाड, कमजोर व्यवस्थापन तथा प्राविधिक समस्याका कारण परीक्षा दिन कठिन भएको गुनासो परीक्षार्थीहरूले गरेका थिए।
विशेषगरी इन्टरनेटको गति सुस्त हुँदा अनलाइन प्रणाली प्रभावित भएको, उत्तरहरू समयमै सबमिट गर्न समस्या भएको तथा परीक्षा सञ्चालनका लागि आवश्यक कम्प्युटर, हेडसेटलगायतका उपकरण पर्याप्त रूपमा उपलब्ध नगराइएको आरोप परीक्षार्थीहरूको छ।
पटक–पटक गुनासो गर्दा पनि सुधार नभएको भन्दै मंगलबार परीक्षार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। विरोधका क्रममा तनाव उत्पन्न हुनुका साथै झडपसमेत भएको बताइएको छ। इजरायल रोजगारीका लागि आवश्यक उक्त अंग्रेजी भाषा परीक्षामा सहभागी हुन प्रत्येक परीक्षार्थीले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।
शुल्क लिएर पनि आधारभूत सुविधा र व्यवस्थापन प्रभावकारी नभएको भन्दै परीक्षार्थीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। परीक्षा स्थगित भएसँगै इजरायल रोजगारीको प्रक्रियामा रहेका हजारौं परीक्षार्थी अन्योलमा परेका छन्।
परीक्षा पुनः सञ्चालनको मिति र व्यवस्थापन सुधारका विषयमा सम्बन्धित निकायको औपचारिक निर्णयको प्रतीक्षा भइरहेको छ।







