रास्वपा बागमती प्रदेश अधिवेशनको मतदान विवादपछि स्थगित
Prime TV News ६ घण्टा अगाडि 
हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश अधिवेशनअन्तर्गत मंगलबार राति सुरु भएको मतदान प्रक्रिया विवादका कारण स्थगित भएको छ।
निर्वाचन कार्यतालिकाअनुसार प्रदेश सभापति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए भने सदस्य पदका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए। सभापति पदमा अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्री चुनावी मैदानमा उत्रिएका थिए।
निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरी मंगलबार राति करिब १:३० बजे मतदान सुरु गरेको थियो। तर मतदान सुरु भएको करिब ३० मिनेटमै विवाद उत्पन्न भएपछि प्रक्रिया स्थगित गरिएको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार करिब पाँच जनाले मात्र मतदान गर्न पाएका थिए।
हेटौंडा–१ स्थित हिमालयन दरबारमा आयोजित अधिवेशनमा भक्तपुर जिल्लाको मतदाता नामावली तथा उम्मेदवारहरूको विवरण पूर्ण रूपमा सार्वजनिक नगरिएको भन्दै प्रतिनिधि र कार्यकर्ताहरूले आपत्ति जनाएका थिए।
निर्वाचन क्षेत्र तथा क्लस्टरअनुसार उम्मेदवारहरूको नामावली छुटेको विषयमा विवाद चर्किएपछि कार्यकर्ता र मतदाताहरू आक्रोशित बनेका थिए। केही सहभागीले मतपत्र च्यातेका थिए भने नाराबाजी र होहल्लासमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
विवाद बढेपछि निर्वाचन समितिले बुधबार बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरेको थियो। तर पछिल्लो जानकारीअनुसार निर्वाचन प्रक्रिया पुनः सञ्चालन हुन सकेको छैन। अधिवेशन स्थलमा आयोजक समिति तथा निर्वाचन समितिका पदाधिकारीसमेत उपस्थित नरहेको बताइएको छ।
विवाद समाधानका लागि दलका नेतृत्व तहमा छलफल जारी रहेको जनाइएको छ।






