प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल गर्ने तयारी

User Image Prime TV News १६ घण्टा अगाडि
Image of प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल गर्ने तयारी

काठमाडौ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठक सिंहदरबारस्थित संसद भवनमा बोलाइएको हो।

बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तथा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

यद्यपि प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि प्रभावित हुन सक्ने देखिएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसदमा माफी नमागेसम्म बैठक चल्न नदिने अडान कायम राखेका छन्। यही विवादका कारण पछिल्ला केही बैठकहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरिएको जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ सम्बन्धी सूचना सभालाई दिने कार्यसूची पनि रहेको छ।

त्यस्तै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।