विश्वकप टिकट विवादमा, अमेरिकामाथि इरानको आरोप

User Image Prime TV News १८ घण्टा अगाडि
Image of विश्वकप टिकट विवादमा, अमेरिकामाथि इरानको आरोप

काठमाडौ । इरानी फुटबल महासङ्घले सन् २०२६ को फिफा विश्वकप-२०२६ का लागि आफ्ना समर्थकलाई छुट्याइएको टिकट कोटा अमेरिकाले रद्द गरेको आरोप लगाएको छ।

मंगलबार जारी विज्ञप्तिमा महासङ्घले अमेरिकाले इरानी समर्थकहरूको रङ्गशालामा प्रवेश सीमित गर्न उद्देश्यपूर्ण रूपमा अवरोध सिर्जना गरेको दाबी गरेको छ।

इरानका अनुसार विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा समूह चरणका खेलका लागि उपलब्ध गराइएको टिकट कोटा फिर्ता लिइएको हो। इरानी फुटबल महासङ्घले दुई देशबीच बढेको राजनीतिक तनावका कारण यस्तो निर्णय गरिएको आरोप लगाएको छ।

महासङ्घका अनुसार केही सहयोगी कर्मचारीलाई भिसा दिनसमेत अस्वीकार गरिएको छ। फिफाको नियमअनुसार सहभागी टोलीका राष्ट्रिय महासङ्घलाई प्रत्येक खेलको कुल टिकटमध्ये निश्चित प्रतिशत कोटा उपलब्ध गराइन्छ।

इरानले आफ्नो भागको टिकट पाएपछि न्युजिल्यान्ड, बेल्जियम र इजिप्ट विरुद्ध हुने समूह चरणका खेलका लागि टिकट बिक्री प्रक्रिया सुरु गरिसकेको जनाएको छ।

महासङ्घका अनुसार धेरै समर्थकले टिकट खरिदसँगै यात्रा र बसोबासको तयारी पनि गरिसकेका थिए। तर टिकट कोटा फिर्ता लिएपछि उनीहरू अन्योलमा परेका छन्।

इरानले अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय खेलकुदको भावना र सहभागी राष्ट्रबीचको समान व्यवहारको सिद्धान्तविपरीत भएको भन्दै असन्तुष्टि जनाएको छ।

यद्यपि अमेरिकी पक्ष वा फिफाबाट यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। टिकट विवादले विश्वकपअघि खेलकुद र राजनीतिबीचको तनावलाई पुनः चर्चामा ल्याएको छ।