एन्फा पदाधिकारीलाई विदेश जान रोक कायम, राखेपले अनुमति दिएन
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल हटाउन अस्वीकार गरेको छ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई फिफा विश्वकप २०२६ कार्यक्रममा सहभागी हुन विदेश जान अनुमति माग्दै राखेप पुगेका थिए। तर, राखेपले हालको अवस्थामा उनीहरूलाई विदेश जाने बाटो खुला गर्न नसकिने जनाएको छ।
राखेपका सदस्य सचिव रामचरित्र मेहताका अनुसार पदाधिकारीमाथिको प्रतिबन्ध तत्काल फुकुवा गर्ने निर्णय गरिएको छैन। यसअघि विदेश यात्रा खुला गराउन एन्फाका पदाधिकारीहरू अध्यागमन विभाग पनि पुगेका थिए। तर, अध्यागमन विभागले राखेपको सिफारिस आवश्यक पर्ने बताएपछि उनीहरू पुनः राखेप पुगेका हुन्।
अध्यक्ष नेम्बाङ र महासचिव राई ११ जुनदेखि सुरु हुने फिफा विश्वकप २०२६ कार्यक्रममा सहभागी हुन सोमबार राति मेक्सिको जाने तयारीमा थिए। तर, राखेपले अनुमति नदिएपछि उनीहरूको यात्रा अन्योलमा परेको छ।
गत वैशाखमा आर्थिक विषयमा छानबिन भइरहेकाले राखेपको सिफारिसमा अध्यागमन विभागले एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो। सोही निर्णय अहिले पनि कायम रहेको छ।







