होल्डिङ सेन्टरमा मृत्यु भएका भेषराज दर्जी प्रकरणमा मानवअधिकार आयोगद्वारा छानबिन सुरु

User Image Prime TV News ४ दिन अगाडि
Image of होल्डिङ सेन्टरमा मृत्यु भएका भेषराज दर्जी प्रकरणमा मानवअधिकार आयोगद्वारा छानबिन सुरु

काठमाडौ । कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनको होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी भेषराज दर्जीको निधन भएपछि राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे औपचारिक छानबिन सुरु गरेको छ।

आयोगका सहसचिव यज्ञ अधिकारीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक प्रतिवेदन माग गरिएको छ। साथै सम्बन्धित मन्त्रालयसँग पनि आवश्यक विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ। प्राप्त कागजातहरूको अध्ययनपछि आयोगले थप प्रक्रिया अघि बढाउने जनाएको छ।

दर्जीको निधनलाई लिएर विभिन्न अधिकारकर्मीहरूले राज्यको नियन्त्रणमा रहेका नागरिकको मृत्यु भएकाले निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै आयोगमा ध्यानाकर्षण गराएका थिए। उनीहरूको भनाइमा राज्यले संरक्षणमा राखेका व्यक्तिको स्वास्थ्य उपचार, औषधि र आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु राज्यको दायित्व हो।

निधनअघि अधिकारकर्मीहरूसँगको भेटमा भेषराज दर्जीले नियमित उपचार र औषधि नपाएको, परिवारको आर्थिक अवस्था कमजोर बनेको तथा आफ्ना छोराछोरीको भविष्यप्रति गहिरो चिन्ता रहेको बताएका थिए। उक्त अभिव्यक्तिको भिडियो पनि सार्वजनिक भएको छ।

काठमाडौको गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि होल्डिङ सेन्टरमा बस्दै आएका दर्जीको निधनपछि घटनाले राज्यको जिम्मेवारी र होल्डिङ सेन्टरमा उपलब्ध गराइने सेवाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

राष्ट्रिय मानवअधिकार आयोगले छानबिन निष्पक्ष रूपमा सम्पन्न गरी आवश्यक सिफारिस गर्ने जनाएको छ भने अधिकारकर्मीहरूले पीडित परिवारलाई न्याय दिलाउन र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।