रङ्गशालाको ऋण टुंग्याउने अभियानमा फेरि जुटे धुर्मुस

User Image Prime TV News २ घण्टा अगाडि
Image of रङ्गशालाको ऋण टुंग्याउने अभियानमा फेरि जुटे धुर्मुस

काठमाडौ । कलाकार सिताराम कट्टेल अमेरिका बसाइका करिब छ महिनापछि नेपाल फर्किएका छन्। छोरीको उपचारका लागि अमेरिका गएका उनी अब गौतम बुद्ध क्रिकेट रङ्गशालासँग सम्बन्धित बाँकी आर्थिक दायित्व समाधान गर्ने प्रयासमा जुटेका छन्।

धुर्मुसले आफ्नै पहलमा चितवनमा निर्माण सुरु गरेको गौतम बुद्ध क्रिकेट रङ्गशाला को निर्माण कार्य रोकिए पनि त्यस क्रममा आपूर्तिकर्ताहरूसँग भएको करोडौं रुपैयाँ बक्यौता अझै बाँकी छ। फाउन्डेसनले निर्माणाधीन संरचना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि सामग्री आपूर्ति गर्ने व्यवसायीहरूले भुक्तानी पाउन सकेका छैनन्।

सरकारले गत वर्ष रङ्गशालाको सम्पत्ति खरिदका लागि १५ करोड रुपैयाँ छुट्याएको थियो। उक्त रकम भरतपुर महानगरपालिकाको खातामा पुगे पनि हालसम्म वितरण नभएको बताइएको छ। समयमै निकासा नभए रकम फिर्ता जाने सम्भावना रहेकाले धुर्मुसले सम्बन्धित निकायसँग पुनः पहल थालेका हुन्।

यस विषयमा महानगरपालिका, कानून मन्त्रालय र आपूर्तिकर्ताबीच छलफल जारी रहेको छ। कानून मन्त्रालयले महानगर आफैंले रकम निकासा गर्न सक्ने राय दिएको बताइए पनि प्रक्रिया अझै अघि बढ्न सकेको छैन।

कानूनमन्त्री सोविता गौतम ले पनि समस्या समाधानका लागि चासो देखाउँदै आवश्यक समन्वय गरिरहेकी छन्। आपूर्तिकर्ताहरूले असारभित्रै बक्यौता रकम भुक्तानी हुने अपेक्षा गरेका छन्।धुर्मुसले लामो समयदेखि विवाद र आलोचनाबीच पनि रङ्गशालासँग जोडिएको दायित्व पूरा गर्न प्रयास जारी राखेका छन्।

सम्बन्धित निकायहरूको सहयोग मिलेमा वर्षौंदेखि रोकिएको भुक्तानी प्रक्रिया अब टुंगो लाग्ने आशा गरिएको छ।