सम्पत्तिबारे छानबिनमा सघाउन राजीनामा दिएको हुँ : सुधन गुरुङ

User Image Prime TV News एक घण्टा अगाडि
Image of सम्पत्तिबारे छानबिनमा सघाउन राजीनामा दिएको हुँ : सुधन गुरुङ

गोरखाा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा सहयोग गर्न कै लागि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा बसेपछि उठ्ने प्रश्नहरूको जवाफ दिनु आफ्नो दायित्व भएको उल्लेख गरे। छानबिन समितिसमक्ष आफूले स्पष्ट र जिम्मेवार ढंगले बयान दिएको उनको भनाइ थियो।

उनका अनुसार बयानका क्रममा निकै कडा प्रश्नहरू सोधिए पनि आफूले सबै प्रश्नको सहज र तथ्यपरक जवाफ दिएको बताए। सम्बोधनका क्रममा उनले छानबिनसँग जोडिएको एउटा रोचक प्रसंग पनि सुनाए। समितिले आफ्नो सम्पत्तिको स्रोतबारे प्रश्न गर्दा आफूले प्रतिप्रश्न गर्दै समितिका सदस्यहरूको सम्पत्तिको पनि छानबिन गर्न सुझाव दिएको उनले ठट्यौली शैलीमा बताए।

गुरुङले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले न्यायपूर्ण मूल्यांकन हुने र अन्ततः सफाइ पाउने विश्वास व्यक्त गरे। उनले भविष्यमा आफू पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किने अवस्था आए सुरुका दुई महिनासम्म बधाई दिन वा तस्वीर खिच्न मन्त्रालय नआइदिन समर्थक तथा शुभेच्छुकसँग आग्रह गरे।

आफ्नो प्राथमिकता औपचारिक भेटघाटभन्दा मन्त्रालयको कामलाई व्यवस्थित रूपमा अघि बढाउनु हुने उनले बताए।