सहारा मरुभूमिमा पानी नपाएर ४९ जनाको मृत्यु
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नाइजरको सहारा मरुभूमिमा पानीको अभावका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार उनीहरू सवार ट्रक बीच बाटोमै बिग्रिएपछि मरुभूमिमा फसेका थिए।
उक्त ट्रक मालीको हारौबा सहरबाट छुटेको थियो। यात्रुहरू मुस्लिम धार्मिक उत्सवमा सहभागी भएर फर्किरहेका बेला ट्रक बिग्रिएको जनाइएको छ।
यात्रुहरूले धेरै दिनसम्म ट्रक मर्मत गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। उनीहरू फसेको क्षेत्र अत्यधिक गर्मी हुने सहारा मरुभूमिको दुर्गम भाग थियो, जहाँ पानी र आवश्यक सामग्री पाउन निकै कठिन हुन्छ।
लामो समयसम्म मरुभूमिमा फस्दा यात्रुहरूसँग भएको पानी सकिएको थियो। तिर्खा र थकानका कारण ४९ जनाको ज्यान गएको बताइएको छ।
घटनामा दुईजना मात्र जीवित बच्न सफल भए। उनीहरूले कठिन यात्रा गरेर नजिकैको असामाका सहर पुग्दै स्थानीय अधिकारीलाई घटनाबारे जानकारी दिएका थिए।
उद्धार टोली घटनास्थलमा पुग्दा ट्रक वरिपरि र मुनि धेरै शव फेला परेको थियो। पछि मृतकहरूको सामूहिक रूपमा अन्त्येष्टि गरिएको जनाइएको छ।
फर्कने क्रममा उद्धार टोलीले अर्को एउटा बिग्रिएको ट्रक पनि भेटेको थियो। त्यसमा ६० भन्दा बढी यात्रु सवार थिए। ट्रकको ब्याट्री बिग्रिएपछि उनीहरू तीन दिनदेखि मरुभूमिमा फसेका थिए।
उद्धारकर्ताले उनीहरूलाई पानी उपलब्ध गराएर ट्रक मर्मतमा सहयोग गरेका थिए। त्यसपछि ती यात्रु सुरक्षित रूपमा गन्तव्यतर्फ जान सफल भएका थिए।
सहारा मरुभूमिमा हुने यस्तो दुर्घटनाले चरम गर्मी, पानीको अभाव र कमजोर यातायात व्यवस्थाको भयावह अवस्था फेरि उजागर गरेको छ।







