‘कक्रोच जनता पार्टी’ले भारतमा बढायो राजनीतिक दबाब, आज नयाँदिल्लीमा प्रदर्शन
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । भारतमा सामाजिक सञ्जालबाट सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अहिले चर्चाको केन्द्र बनेको छ। युवामाझ तीव्र लोकप्रियता पाएको यो अभियानले सत्तारुढ भारतीय जनता पार्टी माथि दबाब बढाउन थालेको बताइएको छ।
सीजेपीले आज नयाँदिल्लीस्थित जन्तरमन्तर मा प्रदर्शन आयोजना गरेको छ। आन्दोलनको मुख्य माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा रहेको बताइएको छ। उनीमाथि परीक्षा प्रणालीमा अनियमितता भएको आरोप लगाइएको छ।
यो अभियान अमेरिकामा अध्ययनरत ३० वर्षीय अभिजित डिप्केले सुरु गरेका हुन्। बोस्टन विश्वविद्यालयका स्नातक डिप्के यस आन्दोलनका लागि दिल्ली पुगिसकेका छन्। उनी यसअघि आम आदमी पार्टी सँग राजनीतिक सञ्चार रणनीतिकारका रूपमा पनि जोडिएका थिए।
कक्रोच पार्टी स्थापना हुनुको पृष्ठभूमि पनि विवादास्पद छ। भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई “कक्रोच”सँग तुलना गरेको भन्दै आलोचना भएपछि त्यसको विरोधस्वरूप यो अभियान सुरु गरिएको बताइएको छ।
सुरुमा व्यङ्ग्यात्मक रूपमा सुरु भएको अभियान अहिले युवाको असन्तुष्टि बोकेको राजनीतिक प्रतीक जस्तै बनेको छ। सामाजिक सञ्जालमा यसको प्रभाव तीव्र रूपमा बढेको छ।
सीजेपीको इन्स्टाग्राम खातामा २ करोड २० लाखभन्दा बढी फलोअर्स पुगेका छन्, जुन भाजपाभन्दा करिब ९० लाख र भारतीय राष्ट्रिय कांग्रेस भन्दा १ करोड ३० लाख बढी रहेको दाबी गरिएको छ।
यस आन्दोलनलाई लद्दाखका अभियन्ता सोनम वाङचुक ले पनि समर्थन गरेका छन्। उनी आजको प्रदर्शनमा सहभागी हुने जनाइएको छ।
भारतमा बेरोजगारी, परीक्षा विवाद र युवाको असन्तुष्टि चुलिँदै गएको अवस्थामा सामाजिक सञ्जालबाट सुरु भएको यस्तो अभियानले पारम्परिक राजनीतिलाई चुनौती दिन थालेको विश्लेषण भइरहेको छ।






