परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा

User Image Prime TV News ३ घण्टा अगाडि
Image of परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा मन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहनेछन्।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको प्राथमिकताका विषयमा भारतसँग छलफल हुने बताएका छन्। भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

छलफलमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, यातायात सञ्जाल र जनस्तरको सम्बन्धबारे चर्चा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ । नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

मन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम छ।