मनसुनको अवसरमा ठगी ? राइड सेयरिङ सेवामाथि कारबाहीको चेतावनी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौं उपत्यकामा हाल भइरहेको मनसुनजन्य विपद्को अवस्थामा राइड सेयरिङ सेवाहरू इन्ड्राइभ, पठाओ, याङ्गो लगायतले यात्रुहरूसँग अत्यधिक भाडा असुल गरेको गुनासोहरू तीव्र रूपमा बढिरहेका छन्।
यात्रुहरूको यस्ता गुनासोलाई गम्भीर रूपमा लिँदै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शनिबार एक सूचना जारी गर्दै सेवा प्रदायक र चालकहरूलाई कानुनी कारबाहीको चेतावनी दिएको छ।
प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, "हालको विपद्को संवेदनशील अवस्थामा अत्यावश्यक सेवाको नाममा हुने कुनै पनि किसिमको ठगी कार्य पूर्णतः अस्वीकार्य छ।"
कार्यालयले यस्तो व्यवहार देखिएको खण्डमा प्रमाणसहित उजुरी दर्ता गर्न यात्रुहरूलाई आग्रह गरेको छ। साथै, यस्ता कार्यमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट गरिएको छ।
मनसुनका कारण उपत्यकाका विभिन्न स्थानमा सडक बग्ने, जाम हुने, सार्वजनिक यातायात अवरुद्ध हुनेजस्ता समस्याहरू देखिएका छन्।
यसै सन्दर्भमा निजी सवारी तथा राइड सेयरिङ सेवाहरूको प्रयोग अनिवार्य जस्तै भएपछि, चालकहरूले मनोमानी भाडा तोकेर यात्रुहरूलाई ठगी गरेको आरोप लाग्दै आएको छ।
यात्रुहरूका अनुसार सामान्य अवस्थामा ३०० रुपैयाँमा हुने यात्रा अहिले ८०० रुपैयाँसम्म पुगेको छ। कतिपय यात्रुहरूले मोबाइल एपमार्फत हुने मूल्य तोकिएको भए पनि चालकहरूले नकद भुक्तानी मात्र माग्दै मूल्य बढाउने गरेको बताएका छन्।













