उत्तर कोरियाले नयाँ परमाणु इन्धन केन्द्र सार्वजनिक गर्यो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । उत्तर कोरियाले परमाणु बम बनाउन प्रयोग हुने इन्धन उत्पादन गर्ने नयाँ केन्द्र सार्वजनिक गरेको छ।
देशका सर्वोच्च नेता किम जोङ उनले उक्त केन्द्रको अवलोकन गर्दै परमाणु शक्ति अझ तीव्र रूपमा विस्तार गर्ने योजना अघि सारेका छन्। सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार किमले बुधबार उक्त स्थलको भ्रमण गरेका थिए।
उनले परमाणु क्षमता बढाउने कामलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। केसीएनएले उक्त केन्द्रमा आधुनिक प्रविधि प्रयोग गरिएको जनाएको छ। तर यसको स्थान भने गोप्य राखिएको छ। दक्षिण कोरियाको सेनाले यो स्थल युरेनियम सम्वर्धन केन्द्र हुन सक्ने अनुमान गरेको छ र यसको निगरानीका लागि अमेरिकासँग समन्वय भइरहेको जनाएको छ।
सार्वजनिक तस्बिरमा किम जोङ उनलाई ठूलो औद्योगिक संरचना र पाइपहरू भएको क्षेत्रमा हिँडिरहेको देखाइएको छ। यो उत्तर कोरियाले युरेनियम सम्वर्धन केन्द्र सार्वजनिक गरेको तेस्रो पटक हो। यसअघि पनि यस्ता संरचनाहरू सन् २०१० र २०२४ मा देखाइएको थियो।







