भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्री शाहको भ्रमणको तयारी पनि हुने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आज औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रमणको जानकारी दिएको हो।
यसअघि जेठ २३ गतेका लागि तय गरिएको भ्रमण केही प्राविधिक कारणले स्थगित भएको थियो। नयाँ कार्यतालिकाअनुसार मन्त्री खनाल आज नयाँदिल्ली जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकर लगायत त्यहाँका उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्नेछन्। छलफलमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग, व्यापार, कूटनीतिक सहकार्य तथा सीमा समस्यालगायत विषय उठ्ने बताइएको छ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टोली पनि हाल भारत भ्रमणमा रहेकाले नेपाली राजनीतिक वृत्तमा यो भ्रमणलाई चासोका साथ हेरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछानेसँग भेट गरेपछि नेपाल–भारत राजनीतिक संवाद थप सक्रिय भएको चर्चा भइरहेको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे पनि भारतीय पक्षसँग छलफल गर्नेछन्। साथै नेपाल–भारत सीमा विवाद र द्विपक्षीय हितसँग जोडिएका विषयमा प्रारम्भिक समझदारी बनाउने प्रयास हुने बताइएको छ।
यस भ्रमणलाई आगामी उच्चस्तरीय नेपाल–भारत राजनीतिक संवादको आधार तयार गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।






