सरकार सुशासन र तीव्र विकासमा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन कायम गर्दै द्रुत आर्थिक विकासतर्फ अघि बढिरहेको बताएका छन्।
ललितपुरमा आयोजित विकाससम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले नागरिकको परिवर्तनप्रतिको अपेक्षा पूरा गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। मन्त्री खनालले मुलुकलाई समृद्ध बनाउन दिगो विकास साझेदारीलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य गरेर नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताए। उनका अनुसार सरकारले विकास साझेदारहरूसँगको सहकार्य मजबुत बनाउने, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने र विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको प्राथमिकता प्रभावकारी रूपमा प्रस्तुत गर्ने काम गरिरहेको छ।
मन्त्री खनालले नागरिकका अपेक्षा परिवर्तन भएको भन्दै अब परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नुपर्ने बताए। उनले सरकार एआईएनसँग नयाँ ऊर्जाका साथ सहकार्य गर्न तयार रहेको पनि उल्लेख गरे। त्यसैगरी, उनले स्थानीय सरकारलाई बलियो बनाएपछि मात्रै सामाजिक संघ–संस्थाहरूको काम प्रभावकारी हुने बताए। विकास साझेदार संस्थाहरूले पनि दिगो शान्ति, विकास र समृद्धिमा योगदान पुर्याउनुपर्ने उनको भनाइ थियो।







