कांग्रेसमा ३ लाख ७५ हजार सदस्यको क्रियाशील सदस्यता अद्यावधिक

User Image Prime TV News ५ घण्टा अगाडि
Image of कांग्रेसमा ३ लाख ७५ हजार सदस्यको क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौ । नेपाली कांग्रेसमा हालसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले आफ्नो सदस्यता अद्यावधिक गरेका छन्।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरण भएका सदस्यलाई ‘डिजिटल रूपमा अद्यावधिक’ गर्न समय दिएको हो। समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार यो संख्या साँझसम्म करिब ४ लाख पुग्ने अनुमान गरिएको छ।

१४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य संख्या ८ लाख ७० हजारभन्दा बढी थियो। तर अहिले त्यो घटेर करिब ३ लाख ७५ हजारमा झरेको छ। रसाइलीका अनुसार सरकारी कर्मचारी र शिक्षकले अब कुनै पनि दलको सदस्यता लिन नपाउने व्यवस्था भएपछि करिब २ लाख सदस्य घटेका छन्। त्यसबाहेक पनि धेरै सदस्यले अद्यावधिक नगरेको उनले बताए।

१५औँ महाधिवेशनका लागि यसपटक नवीकरणसँगै ‘डिजिटल अद्यावधिक’ अनिवार्य गरिएको छ। तर यस विषयमा पार्टीभित्र मतभेद पनि देखिएको छ। केही पक्षले प्रक्रिया स्वीकार गरेको छ भने केहीले असहमति जनाएको जनाइएको छ।

विशेष महाधिवेशनअघि करिब ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेको तथ्य पनि सार्वजनिक भएको छ।