कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय हुने
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनपछि २३१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने भएको छ।
गत पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट पारित विधानअनुसार अब कांग्रेसको केन्द्रीय समिति ठूलो आकारको हुने भएको हो। नयाँ व्यवस्थाअनुसार सभापतिसहित १७१ जना निर्वाचित हुनेछन् भने ६१ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। यसअघि पूर्वसभापति शेरबहादुर देउवाको कार्यकालमा १६८ सदस्यीय समिति थियो।
कांग्रेसले समयसँगै केन्द्रीय समितिको आकार विस्तार गर्दै आएको छ। १३औँ महाधिवेशनमा ८५ सदस्यीय समिति रहेको थियो। नयाँ विधानले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको छ। युवा, महिला, दलित, मधेशी तथा जनसम्पर्क समितिबाट समेत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ।
सात प्रदेश सभापति र प्रतिनिधिसभा संसदीय दलका नेता पनि केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। पार्टीभित्र केही नेताहरूले यसलाई समावेशी बनाउन गरिएको प्रयास भनेका छन् भने केहीले भने संरचना धेरै ठूलो भएको भन्दै प्रश्न उठाएका छन्। पार्टी नेतृत्वले भने सबैलाई समेट्न र संगठनलाई बलियो बनाउन केन्द्रीय समिति विस्तार गरिएको बताएको छ।







