सम्पत्ति छानबिन आयोगले वर्तमान सरकारको सम्पत्ति नछानबिन गर्ने
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति छानबिन आयोगले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ।
आयोगका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू अहिलेको कार्यादेश (टीओआर) भित्र नपरेकाले उनीहरूको सम्पत्ति छानबिन नहुने भएको हो। आयोग २०६२/६३ यता सार्वजनिक उच्च पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको हो। तर वर्तमान सरकार त्यस दायराभन्दा बाहिर परेको आयोगले जनाएको छ।
आयोगका सदस्य गणेश केसीका अनुसार आयोगको कार्यक्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी पर्छन्। तर सर्वोच्च अदालत, सेना, संवैधानिक निकायका पदाधिकारी, राष्ट्रपति, उपराष्ट्रपति र राजा भने छानबिनको दायरामा पर्दैनन्।
आयोगले अहिले उजुरी संकलन र सम्पत्ति विवरण फाराम वितरणको काम गरिरहेको छ। सम्बन्धित व्यक्तिहरूलाई जेठ महिनाभित्र विवरण बुझाउन भनिएको छ। आयोगलाई एक वर्षको समय दिइएको छ र कार्यादेशअनुसार छानबिन प्रक्रिया अघि बढाइने बताइएको छ।







