नेपाल पासपोर्ट सुधार हुँदै ९७औं स्थानमा, सिंगापुर सबैभन्दा शक्तिशाली

User Image Prime TV News ७ घण्टा अगाडि
Image of नेपाल पासपोर्ट सुधार हुँदै ९७औं स्थानमा, सिंगापुर सबैभन्दा शक्तिशाली

काठमाडौ । हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ अनुसार नेपालको पासपोर्ट रैकिङमा सुधार आएको छ। नेपाल गत वर्षको १०१ औं स्थानबाट उक्लिएर यस वर्ष ९७औं स्थानमा पुगेको छ।

प्रतिवेदन अनुसार नेपाली नागरिकले ३५ देशमा भिसा–फ्री वा आगमनमै भिसा सुविधा पाउने गरेका छन्। नेपालसँगै उत्तर कोरिया पनि ९७औं स्थानमा रहेको छ। यस वर्ष सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले १९२ देशमा भिसाविना प्रवेश पाउँछन्।

त्यसैगरी दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी देशका नागरिकले १८७ देशमा भिसा–फ्री यात्रा गर्न सक्छन्। तेस्रो स्थानमा स्विडेन रहेको छ, जसका नागरिकले १८६ देशमा भिसा–फ्री पहुँच पाउँछन्।

छिमेकी भारत ७८औं स्थानमा रहेको छ भने चीन ५६औं स्थानमा पुगेको छ। पाकिस्तान भने १००औं स्थानमा रहेको छ। अमेरिका यस वर्ष फेरि शीर्ष १० भित्र प्रवेश गर्दै १०औं स्थानमा पुगेको छ। बेलायत पनि सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ।

सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ, जुन १०३औं स्थानमा छ। सिरिया १०२औं र इराक १०१औं स्थानमा रहेका छन्। प्रतिवेदनले विश्वभरका पासपोर्ट शक्तिमा गत वर्षको तुलनामा केही फेरबदल देखिएको जनाएको छ।