भन्सार छलीको आशंकामा ७७४ विद्युतीय गाडी नियन्त्रणमा
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ।
भन्सार छली भएको आशंकामा बुधबार राति जोमसोम, कुस्मा र हेम्जा क्षेत्रबाट ती गाडी नियन्त्रणमा लिइएको हो। यसका लागि मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीका विभिन्न सशस्त्र प्रहरी इकाइ परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीले नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा विद्युतीय गाडी पनि नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा परेका सबै गाडी आवश्यक छानबिनका लागि सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
गाडीहरू भन्सार प्रक्रिया पूरा गरेर भित्र्याइएका हुन् वा होइनन् भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ।







