समूह विजेता बन्न आज मलेसियासँग खेल्दै नेपाल
Prime TV News ११ घण्टा अगाडि 
काठमाडौ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । लगातार दोस्रो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यसहित नेपाल मैदान उत्रिन लागेको हो ।
नेपाल र मलेसियाबीचको खेल सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । आजको खेलबाट समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्नेछ । खेल जित्ने टोली समूह विजेता बन्नेछ भने हार्ने टोली उपविजेतामा सीमित हुनेछ ।
पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले हराएको थियो । मलेसियाले पनि चीनलाई नौ विकेटले पराजित गरेको थियो ।
नेपाल र मलेसिया दुवैले एसियन गेम्समा स्थान भने सुरक्षित गरिसकेका छन् ।
नेपाल र मलेसियाबीच हालसम्म १० वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले नौ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ ।







