ओलीको अभिव्यक्तिपछि योगेश भट्टराईले सुनाए ‘बसका वृद्ध’को कथा

User Image Prime TV News एक दिन अगाडि
Image of ओलीको अभिव्यक्तिपछि योगेश भट्टराईले सुनाए ‘बसका वृद्ध’को कथा

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने संकेत सहितको अभिव्यक्ति दिएपछि एमाले नेता योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत सांकेतिक प्रतिक्रिया दिएका छन्।

बुधबार आयोजित एमालेको दुई दिने कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले ‘मर्ने छाँट छैन, झोला बीचमा फ्याँक्दिनँ’ भन्दै नेतृत्वबाट पछि नहट्ने संकेत गरेका थिए। उनले पार्टीभित्र गुटबन्दी नगर्न र संगठन कमजोर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका थिए।

ओलीको अभिव्यत्तिपछि केही समयमै उपमहासचिव भट्टराईले फेसबुकमा एक वृद्ध व्यक्तिको कथा साझा गरेका छन्। कथामा बसभित्र उभिएका एक वृद्धले आफूले बस पल्टिनबाट जोगाएको दाबी गर्छन्, जबकि बसका अन्य यात्रुले त्यसलाई स्वाभाविक रूपमा लिन्छन्।

भट्टराईले उक्त कथा उल्लेख गर्दै ‘आज मलाई यो कथाको खुब सम्झना भयो’ भनेर लेखेका छन्। उनले कसैको नाम नलिए पनि उनको टिप्पणीलाई अध्यक्ष ओलीको अभिव्यक्तिप्रतिको सांकेतिक प्रतिक्रिया रूपमा हेरिएको छ। एमालेभित्र नेतृत्व, संगठन र पार्टीको भावी दिशाबारे बहस चलिरहेका बेला ओली र भट्टराईका अभिव्यक्तिले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।