आर्थिक विधेयकमा हेरफेर भएको दाबी, नेकपाका प्रमुख सचेतक दुलालको आपत्ति
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदमा पेश भइसकेको आर्थिक विधेयकमा हेरफेर गरिएको भन्दै आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संसदमा दर्ता भएको करसम्बन्धी व्यवस्था बाहिरबाट परिवर्तन गर्नु कानुनविपरीत हुने बताएका छन्। उनले यस्तो कार्यलाई गम्भीर र दण्डनीय भनेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते आर्थिक विधेयक संसदमा पेश गरेका थिए। तर संसदमा दर्ता भएको र पछि अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको विधेयकबीच फरक देखिएको दाबी गरिएको छ।
संसदमा दर्ता भएको विधेयक ४६४ पृष्ठको रहेको बताइएको छ भने अर्थ मन्त्रालयको वेबसाइटमा रहेको संस्करण ४४८ पृष्ठको छ। करसम्बन्धी केही व्यवस्थामा पनि फरक देखिएको दाबी गरिएको छ। दुलालले संसदमा पुगेको विधेयक संशोधन गर्ने अधिकार संसद्लाई मात्र हुने बताए।
उनले करका दरजस्ता संवेदनशील विषयमा विशेष सावधानी अपनाउनुपर्ने उल्लेख गर्दै यसबारे छानबिन आवश्यक रहेको बताएका छन्। आर्थिक विधेयकका दुई संस्करणबीच देखिएको फरकबारे सरकारको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।







