रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको आपसी हितका विभिन्न विषयमा छलफल भएको बताइएको छ।
भेटका क्रममा प्रधानमन्त्री मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका थिए। उनले लामिछानेसँगको भेटले आफूलाई खुसी लागेको उल्लेख गर्दै सहकार्यको इच्छालाई स्वागत गरेको बताएका छन्।
रवि लामिछाने सोमबार भारत भ्रमणमा गएका हुन्। उनलाई हिजो भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा भव्य स्वागत गरिएको थियो। भ्रमणका क्रममा मंगलबार उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेट गरेका थिए।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएको हो। टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सांसद विपीनकुमार आचार्य, सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।






