नेप्से २.६६ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ७३ करोड पुग्यो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सेयर बजार बुधबार सामान्य बढोत्तरी सहित बन्द भएको छ। नेप्से परिसूचक २.६६ अंकले बढेर २७८० अंकमा पुगेको छ। अघिल्लो दिन बजार २२.२१ अंकले बढेको थियो। तर बुधबार दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो।
आज १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो। कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन ५ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ।
समूहगत रूपमा हेर्दा निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.३७ प्रतिशतले बढेको छ। बजेटमा तेस्रो पक्ष बीमांक रकम १० लाख रुपैयाँ पुर्याइएकाले यस क्षेत्रमा व्यवसाय बढ्ने अपेक्षाले लगानीकर्ताको आकर्षण बढेको मानिएको छ।
जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहमा पनि सामान्य वृद्धि देखिएको छ। तर अन्य समूह भने २.३६ प्रतिशतले घटेको छ। साथै बैंकिङ, फाइनान्स, जलविद्युत् र लगानी समूहमा सामान्य गिरावट देखिएको छ।
आज धेरै बढ्ने कम्पनीमा कालिन्चोक हाइड्रोपावर, एसबीएल डिबेन्चर (२०८४), विजय लघुवित्त, सयपत्रि हाइड्रोपावर र नेपाल इन्स्योरेन्स रहेका छन्। त्यस्तै सबैभन्दा धेरै घट्नेमा नेपाल पुनर्बीमा, सेन्ट्रल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र त्रिशूली जलविद्युत् परेका छन्। कारोबारका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर अगाडि रहेका छन्।







