भदौ २३–२४ को घटना नियोजित षड्यन्त्र थियो : केपी शर्मा ओली
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाहरू नियोजित रूपमा गरिएको षड्यन्त्र भएको दाबी गरेका छन्।
बुधबार काठमाडौमा नेकपा एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्। ओलीका अनुसार ती घटनालाई कतिपयले आन्दोलन र कतिपयले क्रान्ति भन्ने गरे पनि वास्तविकता फरक रहेको छ। उनले घटनालाई नियोजित र पूर्वयोजनाबद्ध भएको बताए।
उनले आफ्नो नेतृत्वको सरकारलाई संवैधानिक र संसदीय प्रक्रियाबाट कमजोर पार्ने प्रयास असफल भएपछि हिंसात्मक बाटो अपनाइएको आरोप लगाए। ओलीले आगजनी र अन्य आपराधिक गतिविधिका लागि तयारी गरिएको दाबी पनि गरे। उनले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारांशमा समेत घटनाबारे केही कुरा उल्लेख भएको बताए।
एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको नेतृत्व एमालेले नै गरेको भन्दै पार्टीमाथि लक्षित आक्रमण भएको बताएका छन्। उनले यस्ता घटनाबारे सबैले गम्भीर भएर बुझ्नुपर्ने बताए। साथै उनले पार्टी सदस्यता नवीकरण तथा बिस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।







