सीमा नाकाबाट ल्याउन पाइने सामानको छुट सीमा ५ सय रुपैयाँ पुर्याइयो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सरकारले स्थल सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले महसुल नतिरी ल्याउन वा लैजान पाउने सामानको मूल्य सीमा बढाएको छ।
अर्थ मन्त्रालयले यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघि १ सय रुपैयाँसम्म रहेको छुट सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार स्थलमार्गबाट सीमा पार गर्ने व्यक्तिले निजी प्रयोगका लागि ५ सय रुपैयाँसम्म मूल्यका सामान साथमा ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन्।
यद्यपि, स्थल नाकाबाट आवतजावत गर्ने यात्रुलाई हवाईमार्ग प्रयोग गर्ने यात्रुसरहको भन्सार सुविधा भने उपलब्ध नहुने व्यवस्था यथावत् राखिएको छ। भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि भने विशेष सुविधा कायम राखिएको छ। उनीहरूले आफ्नो साथमा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल भित्र्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था निरन्तर रहनेछ।
यसअघि जेठ १५ मा जारी गरिएको सूचनाले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान भित्र्याउन नपाइने व्यवस्था गरेको थियो। उक्त नियम कार्यान्वयनका क्रममा सीमा क्षेत्रमा विवाद र तनाव उत्पन्न भएको थियो भने यसको विषय संसदमा समेत उठेको थियो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यसबेला उक्त व्यवस्था अघिल्लो सरकारले ल्याएको उल्लेख गर्दै छुट सीमा पुनरावलोकन गर्ने बताएका थिए। नयाँ निर्णयसँगै सीमा क्षेत्रका व्यवसायी तथा स्थानीयवासीले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।







