कर्मचारी तलब २१ प्रतिशतले बढ्दा राज्यलाई झण्डै ७५ अर्ब बढी खर्च

User Image Prime TV News २ दिन अगाडि
Image of कर्मचारी तलब २१ प्रतिशतले बढ्दा राज्यलाई झण्डै ७५ अर्ब बढी खर्च

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारी कर्मचारीको तलब तथा भत्ता बढाउने निर्णय गरेसँगै राज्यको खर्चमा ठूलो वृद्धि हुने देखिएको छ।

बजेट अनुसार आधारभूत तलब १० प्रतिशतले बढाइनेछ भने त्यसमा थप १० प्रतिशत कार्यसम्पादन भत्ता दिने व्यवस्था गरिएको छ। यसरी समग्रमा हालको तलबमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने भएको हो। यो वृद्धि लागू हुँदा कर्मचारी तथा पदाधिकारीको तलब–भत्तामा मात्रै करिब ७५ अर्ब २० करोड रुपैयाँभन्दा बढी अतिरिक्त खर्च हुने अनुमान गरिएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा तलब–भत्तामा करिब १ खर्ब ५४ अर्ब रुपैयाँ खर्च भएको थियो। चालु आर्थिक वर्षमा यो खर्च १ खर्ब ६१ अर्बभन्दा बढी पुग्ने संशोधित अनुमान छ। आगामी वर्ष भने यो खर्च बढेर करिब २ खर्ब ३६ अर्ब रुपैयाँ नजिक पुग्ने बजेटमा उल्लेख छ।

त्यसमध्ये कर्मचारीको तलबमा मात्र करिब ६६ अर्ब रुपैयाँभन्दा बढी वृद्धि हुने देखिएको छ भने भत्तामा करिब ४ अर्ब रुपैयाँभन्दा बढी खर्च बढ्ने अनुमान गरिएको छ। पछिल्ला तीन वर्षदेखि तलब नबढेकाले यो वृद्धि सकारात्मक रूपमा लिइएको छ। तर, राज्यको राजस्व सीमित रहेको अवस्थामा यस्तो ठूलो वृद्धि हुँदा सरकारी खर्चको दबाब भने बढ्ने विश्लेषण पनि गरिएको छ।