प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले गल्ती स्वीकार गर्नुपर्ने विपक्षी दलहरुको अडान
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे उत्पन्न विवाद समाधान गर्न सत्तारुढ र विपक्षी दलबीच छलफल भएको छ। प्रतिनिधि सभा सहज रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्न रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विपक्षी दलका प्रमुख सचेतकहरूसँग बैठक गरेका हुन्।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने, संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले स्वयं आएर गल्ती स्वीकार गर्नुपर्ने माग राखेका छन्।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार विपक्षी दलहरूले सभामुखले यस विषयमा रुलिङ गर्नुपर्ने मागसमेत गरेका छन्। उनका अनुसार माग पूरा भए संसद् सहज रूपमा सञ्चालन गर्न सकिने, अन्यथा बैठक अवरुद्ध नै रहने अडान लिइएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई विवादास्पद भन्दै त्यसलाई सच्याउनुपर्ने र सार्वजनिक रूपमा स्पष्टिकरण आवश्यक रहेको बताएका छन्। माग पूरा नभएसम्म संसद् चल्न नदिने उनीहरूको अडान छ।
यसैबीच प्रतिनिधि सभा आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि बैठक सुरु हुन सकेको छैन। आइतबार प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिपछि विवाद चुलिएको हो। विपक्षी दलहरूले लगातार विरोध गर्दै संसद् अवरुद्ध गरिरहेका छन्।







