कलैयामा २४ घण्टामा 'अति भारी वर्षा', २००.६ मिमी पानी मापन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । बाराको कलैयामा गएको २४ घण्टामा ‘अति भारी वर्षा’ मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो ३:२० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार कलैयामा २००.६ मिलिमिटर वर्षा भएको हो।
मौसम विभागले दिएको मापदण्डअनुसार, २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुने अवस्थालाई ‘अति भारी वर्षा’ को श्रेणीमा राखिन्छ। विभागका अनुसार, १० मिमीभन्दा कम वर्षालाई हल्का, १० देखि ५० मिमीलाई मध्यम, ५० देखि १०० मिमीलाई भारी, १०० देखि २०० मिमीलाई धेरै भारी र २०० मिमीभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।
अति भारी वर्षाको कारणले गर्दा बाराका विभिन्न स्थानमा डुबान, जलजमाव र सवारी आवागमनमा असर परेको स्थानीयबासीले बताएका छन्। मौसम विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
बाढीरडुबानकोजोखिम
लगातारको वर्षाले गर्दा तल्लो भूभागमा पानी जम्ने, नदी तथा खोलामा बहाव बढ्ने तथा केही स्थानमा आकस्मिक बाढीको जोखिम समेत देखिएको छ। यस्तो अवस्थामा स्थानीय प्रशासन, उद्धार टोली तथा सर्वसाधारणलाई आवश्यक तयारी अवस्थामा रहन विशेषज्ञहरूको सुझाव छ।
मौसम विभागले आगामी केही दिन अझै वर्षाको सम्भावना रहेको भन्दै समय–समयमा प्रकाशित सूचनालाई पालना गर्न अनुरोध गरेको छ।













