सुधन गुरुङमाथि छानबिन गर्न थप ५ दिन समय
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सरकारले पूर्व गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङमाथि भइरहेको छानबिनका लागि थप पाँच दिन समय दिएको छ।
छानबिन समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार पहिले दिइएको १५ दिनको समय सोमबार सकिएको थियो। काम पूरा नभएकाले थप पाँच दिन समय माग गरिएको र मंगलबारदेखि लागू हुने गरी समय थपिएको हो। अब समितिले यही पाँच दिनभित्र छानबिन पूरा गरेर प्रतिवेदन बुझाउने छ।
समितिले यसअघि नै गुरुङसँग बयान लिइसकेको छ। साथै, उनीमाथि लागेका आरोप, सम्पत्ति विवरण र सेयर लगानीबारे पनि अध्ययन गरिएको छ। सरकारले २८ वैशाखमा यो छानबिन समिति गठन गरेको हो। समितिमा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष छन् भने महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्।
गुरुङमाथि व्यवसायी दीपक भट्टसँग सम्बन्ध रहेको र सम्पत्ति विवरणमा अस्पष्टता देखिएको जस्ता आरोपपछि विवाद भएको हो। यसपछि उनले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। अब छानबिन समितिले अन्तिम प्रतिवेदन बुझाएपछि थप निर्णय हुने अपेक्षा गरिएको छ।







