इरानसँग सम्झौताको संकेत, ट्रम्पले भने– वार्ता सकारात्मक दिशामा
Prime TV News २ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा जारी तनाव समाधानतर्फ सकारात्मक प्रगति भइरहेको बताएका छन् । उनले इरानसँग आगामी हप्ताभित्र महत्वपूर्ण सम्झौता हुन सक्ने संकेत गरेका हुन् ।
अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले युद्धविरामलाई दीर्घकालीन बनाउने र रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गबाट जहाजको आवतजावत पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । तर, सम्झौतामा अझै अन्तिम स्वीकृति नदिएको पनि उनले स्पष्ट पारे ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँगको वार्ता तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका छन् । पछिल्ला सैन्य गतिविधिका कारण युद्धविराम भंग हुन सक्ने चिन्ता बढिरहेका बेला उनले कूटनीतिक प्रयास जारी रहेको बताएका हुन् ।
यसैबीच ट्रम्पले आफूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तथा हिजबुल्लाहका प्रतिनिधिसँग पनि छलफल गरेको खुलासा गरेका छन् । उनले उक्त वार्ता फलदायी भएको दाबी गर्दै बेरुततर्फ पठाइने भनिएका सैनिक फिर्ता बोलाइएको बताएका छन् ।
यद्यपि, केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इरान वार्ताबाट पछि हट्न सक्ने अनुमान सार्वजनिक गरेका छन् । तर ट्रम्पले त्यस्ता खबरलाई अस्वीकार गर्दै वासिङ्टनले इरानले वार्ता रोकेको कुनै आधिकारिक जानकारी नपाएको बताएका छन् ।







