ठोरीबाट पक्राउ परे वीरगन्जका मेयर राजेशमान सिंह
Prime TV News २ दिन अगाडि 
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लिखत सम्बन्धी कसुरको मुद्दामा पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिपराज पाठकका अनुसार मेयर सिंह पर्साको ठोरी क्षेत्रमा लुकेर बसेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ परेका हुन् । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
प्रहरीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह केही समय सार्वजनिक रूपमा देखिएका थिए । एक दिन अदालत पुगेपछि भने उनी सम्पर्कबाहिर रहेका थिए । त्यसपछि प्रहरीले विशेष टोली परिचालन गरेर खोजी अभियान चलाएको थियो ।
गत १२ गते जिल्ला अदालत पर्साले स्थानीय लियाकत अलीको जाहेरीका आधारमा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूमाथि लिखत सम्बन्धी कसुर गरेको आरोप छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।







