बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छ : उद्योग परिसंघ
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारले ल्याएको नयाँ बजेटले अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको आत्मविश्वास बढाउने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले बजेटमा समावेश भएका कार्यक्रमले आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने बताए।
उनका अनुसार पछिल्लो समय बजारमा उपभोग र माग घट्दा व्यवसाय प्रभावित बनेका थिए। बजेटमा समेटिएका विभिन्न कार्यक्रमले बजारमा माग बढाउने र आर्थिक गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ।
पाण्डेले ३६० वस्तुमा अन्तःशुल्क हटाउने निर्णयले व्यवसाय सञ्चालन खर्च कम हुने बताए। साथै, निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको आयकर ऐनको दफा ५७ संशोधनको व्यवस्थालाई पनि सकारात्मक कदमको रूपमा लिए। उनले कर विवाद समाधान, लगानीसम्बन्धी कानुन सुधार तथा औद्योगिक क्षेत्र विकासमा निजी क्षेत्रलाई सहभागी गराउने नीतिले लगानीमैत्री वातावरण बनाउन सहयोग पुग्ने बताए।
यद्यपि, निजी क्षेत्रका केही माग भने बजेटमा समावेश हुन नसकेको उनको भनाइ छ। आयातित वस्तुमा गुणस्तर मापदण्ड लागू गर्ने व्यवस्था, उत्पादनमूलक उद्योगमा हदबन्दी नलगाउने विषय तथा प्रविधिमा आधारित उद्योगसम्बन्धी नीतिमा थप स्पष्टता आवश्यक रहेको उनले बताए। उनका अनुसार बजेटले धेरै सकारात्मक सन्देश दिएको भए पनि निजी क्षेत्रका बाँकी सुझावहरू आगामी दिनमा सम्बोधन हुनुपर्ने आवश्यकता छ।







