प्रधानमन्त्रीको अभिव्यक्तिमाथि श्रम संस्कृति पार्टीको आपत्ति, भारतलाई खुसी पार्न यस्तो भनाइ दिएको आरोप
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको संसदमा दिएको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै विरोध गरेका छन्।
प्रधानमन्त्रीले हिजो संसदमा नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै श्रम संस्कृति पार्टीले आपत्ति जनाएको हो।
अध्यक्ष साम्पाङले जारी गरेको विज्ञप्तिमा रवि लामिछाने भारत भ्रमणमा जानुअघि भारतलाई खुसी पार्न यस्तो अभिव्यक्ति दिइएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।
विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले लिपुलेक र लिम्पियाधुरासम्बन्धी नेपाली जनताको माग कमजोर बनाउने र नेपालको भूमि भारतलाई छोड्नुपर्ने सन्देश दिने आरोप लगाइएको छ।
पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको स्पष्ट धारणा कमजोर बनाएको टिप्पणी गरेको छ। साथै, सरकारले सीमा सुरक्षामा ध्यान नदिएको र नेपाली सेनालाई सीमामा सक्रिय रूपमा परिचालन नगरेको आरोप पनि लगाइएको छ।








