भारी वर्षाका कारण तीन दिनका लागि लामो दूरीका सवारी साधन बन्द

User Image Prime TV News एक महिना अगाडि
Image of भारी वर्षाका कारण तीन दिनका लागि लामो दूरीका सवारी साधन बन्द

काठमाडौ । निरन्तर भइरहेको भारी वर्षा र बाढी, पहिरो तथा डुबानको बढ्दो जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनामा असोज १८, १९ र २० गते (शुक्रबारदेखि आइतवारसम्म) काठमाडौं उपत्यकामा प्रवेश तथा निर्गमन गर्ने सबै प्रकारका लामो दूरीका सार्वजनिक यातायात बन्द रहने उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार, मौसम पूर्वानुमान अनुसार असोज २० गतेसम्म देशका विभिन्न भागहरूमा निरन्तर वर्षा हुने भएकाले जोखिम अझ बढेको छ। यसले गर्दा विशेषगरी पहाडी र तराई क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको सम्भावना बढी देखिएको छ।

सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,” प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यात्रामा निस्कन लागेकाहरुलाई यात्रा स्थगन गर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। साथै, आवश्यक परेको खण्डमा स्थानीय प्रशासन वा सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध गरिएको छ।