मानब अधिकार आयोगले तयार गरेको जेनजी आन्दोलनको प्रतिवेदन अझै नआएको प्रधानमन्त्रीको भनाइ
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारसमक्ष औपचारिक रूपमा नआएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले प्रतिवेदन आएपछि मात्र सार्वजनिक गरिने स्पष्ट पारे। प्रधानमन्त्री शाहका अनुसार मिडियामा प्रतिवेदनबारे चर्चा भए पनि सरकारलाई औपचारिक रूपमा प्रतिवेदन प्राप्त भएको छैन।
“मिडियामा आइसक्यो, मानव अधिकार आयोगको प्रतिवेदन अझै पनि (सरकारलाई) बुझाइसकेको छैन । २९ पेजको केही खण्डको प्रतिवेदन आए पनि १० हजार पेजको छ भन्ने शून्यमा आएको छ । हामीकहाँँ नै अफिसियल रूपमा आएको छैन । त्यो प्रतिवेदन आएपछि सार्वजनिक गर्छौं,” उनले भने ।
उनले केही भागको जानकारी आए पनि पूरा प्रतिवेदन नआएको बताए। प्रतिवेदन आएपछि सरकारले त्यसलाई सार्वजनिक गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ।







