राप्रपा विभाजनको संघारमा, धवलशमशेर राणाले नयाँ पार्टी खोल्ने तयारी

User Image Prime TV News ५ दिन अगाडि
Image of राप्रपा विभाजनको संघारमा, धवलशमशेर राणाले नयाँ पार्टी खोल्ने तयारी

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रको विवाद अब विभाजनतर्फ उन्मुख भएको छ। पार्टीका महामन्त्री धवलशमशेर राणा नयाँ पार्टी गठनको तयारीमा जुटेका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका राणाले सोमबार आफ्ना निकटस्थ नेताहरूको भेला बोलाएका छन्। उक्त भेलापछि सामूहिक रूपमा पार्टी छोड्ने घोषणा हुन सक्ने बताइएको छ।

राणा पक्षका नेताहरूका अनुसार करिब १०० जना नेताहरूले राप्रपा छोड्ने तयारी गरेका छन्। उनीहरूले पार्टी केही सीमित नेताको नियन्त्रणमा पुगेको आरोप लगाएका छन्।

नयाँ दललाई राष्ट्रवादी र राजावादी शक्तिको रूपमा अघि बढाउने तयारी भइरहेको स्रोतको दाबी छ। नयाँ पार्टीमा दुर्गा प्रसाईलाई सर्वोच्च कमाण्डर बनाउने विषयमा समेत छलफल भइरहेको बताइएको छ।

यसैबीच, पार्टी फुट रोक्न वरिष्ठ नेताहरू सक्रिय भएका छन्। कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले धवलशमशेरलाई पार्टी नछोड्न आग्रह गरेका छन्। तर राणाले अध्यक्ष लिङ्देनले पार्टीलाई विधानअनुसार चलाउन नसकेको आरोप लगाउँदै असन्तुष्टि कायमै राखेका छन्।

राप्रपामा विभाजन भने नयाँ घटना होइन। पार्टी स्थापना भएदेखि नै पटक–पटक फुट र एकताको राजनीति हुँदै आएको छ। हालको विवादलाई पनि राप्रपाको अर्को ठूलो संकटका रूपमा हेरिएको छ।