राप्रपा संकटमा, पूर्वअध्यक्षहरूले कार्यकर्तालाई दिए एकताको सन्देश

User Image Prime TV News ५ दिन अगाडि
Image of राप्रपा संकटमा, पूर्वअध्यक्षहरूले कार्यकर्तालाई दिए एकताको सन्देश

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र विवाद र असन्तुष्टि बढिरहेका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।

पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीकमल थापाले संयुक्त वक्तव्य जारी गर्दै अहिलेको परिस्थितिबाट निराश नहुन आग्रह गरेका हुन्।

उनीहरूले राप्रपाको भविष्य उज्ज्वल रहेको दाबी गर्दै पार्टी नछाड्न र कुनै पनि आत्मघाती निर्णय नगर्न कार्यकर्तालाई अनुरोध गरेका छन्।

पूर्वअध्यक्षहरूले देशमा बलियो राष्ट्रवादी शक्ति आवश्यक रहेको उल्लेख गर्दै हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा अझै सान्दर्भिक रहेको बताएका छन्।

उनीहरूका अनुसार पार्टी जीवनमा हार–जीत र उतारचढाव सामान्य कुरा हुन्। त्यसैले कठिन परिस्थितिमा पनि सिद्धान्त र संगठनप्रति प्रतिबद्ध रहनुपर्ने उनीहरूको भनाइ छ।

गत निर्वाचनमा अपेक्षाअनुसार सफलता नमिले पनि पार्टी एकता कायम राखे आगामी दिनमा राम्रो परिणाम हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

वक्तव्यमा आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तय गरिने जानकारी पनि दिइएको छ।

पार्टीभित्र देखिएका विवाद र समस्या महाधिवेशनमार्फत समाधान गरिने भन्दै नेतृत्वप्रति विश्वास कायम राख्न कार्यकर्तालाई आग्रह गरिएको छ।