इरान सम्झौताबारे ट्रम्पको संकेत, अन्तिम निर्णय चाँडै हुने
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित सम्झौताबारे चाँडै अन्तिम निर्णय लिने बताएका छन्।
उनले उक्त सम्झौताले युद्धविराम लम्ब्याउन र होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने संकेत गरेका छन्। तर, अमेरिका र इरानबीच अझै पनि अविश्वास कायम रहेको र मुख्य विषयमा सहमति हुन बाँकी रहेको जनाइएको छ।
ट्रम्पले अमेरिकी नौसैनिक नाकाबन्दीका कारण रोकिएका जहाजहरू अब फुकुवा हुन सक्ने बताएका छन्। उनले जहाजहरू 'घर फर्किन' सुरु गर्न सक्ने उल्लेख गरेका छन्।
उनका अनुसार अर्को सूचना नआएसम्म कुनै आर्थिक कारोबार भने हुने छैन। केही सामान्य विषयमा सहमति भए पनि मुख्य निर्णय अझै हुन बाँकी रहेको ट्रम्पले बताएका छन्।
यसैबीच, ट्रम्पले ‘सिचुएसन रुम’मा आफ्ना सल्लाहकारहरूसँग छलफल गरिरहेको जानकारी दिएका थिए। पछि ह्वाइट हाउसले बैठक सकिएको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन।
उता, इरानले भने कुनै अन्तिम सम्झौता नभएको स्पष्ट पारेको छ। एस्माएल बघाए ले अहिलेको प्राथमिकता युद्ध अन्त्य गर्नु रहेको बताएका छन्। उनले परमाणु कार्यक्रमका विषयमा विस्तृत छलफल नभइरहेको र हाल युद्ध रोक्ने प्रयासमै ध्यान केन्द्रित गरिएको बताएका छन्।







