ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजारभन्दा बढी चालक कारबाहीमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ७७३ चालकलाई एकै दिन कारबाही गरेको जनाएको छ।
कार्यालयका अनुसार उक्त कारबाहीबाट ६ लाख ४४ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरेर सवारी चलाउने १०० जना चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११८, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३६ र अत्यधिक गतिमा सवारी चलाउने २३७ जनालाई कारबाही गरिएको छ।
यसैगरी, लेन अनुशासन नमानेका ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ८९, सडक पेटीमा पार्किङ गर्ने १२० र एकतर्फी सडकमा सवारी चलाउने ९१ जना पनि कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ८०० चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन निगरानी तथा कारबाहीलाई निरन्तर कडा बनाइने प्रहरीले जनाएको छ।







