संविधान र लोकतन्त्रमाथि खतरा बढेको ओलीको दाबी

User Image Prime TV News ६ दिन अगाडि
Image of संविधान र लोकतन्त्रमाथि खतरा बढेको ओलीको दाबी

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थामाथि गम्भीर खतरा देखिएको बताएका छन्।

नेकपा (एमाले) ले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अध्यक्ष ओलीले लामो संघर्ष र बलिदानपछि प्राप्त संविधान संकटमा परेको उल्लेख गरेका हुन्। उनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरेका छन्।

ओलीका अनुसार अहिले नयाँ र पुरानाको नाममा पुराना राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने खेल भइरहेको छ। उनले भू–राजनीतिक स्वार्थका कारण नेपालको भूमि दुरुपयोग गर्न खोज्ने गतिविधि पनि बढेको बताएका छन्।

सरकारका केही गतिविधिले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि प्रश्न उठ्ने अवस्था बनेको ओलीको भनाइ छ। यस्तो अवस्थामा संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको उनले बताएका छन्।

अपानिमा फागुन २१ गतेको निर्वाचन परिणामलाई एमालेले अस्वाभाविक भनेको छ। निर्वाचनपछि पार्टीभित्र निराशा र पलायनको अवस्था देखिएको भन्दै त्यसलाई रोक्नुपर्ने ओलीले बताएका छन्।

उनले पार्टी पुनर्गठन र पुनर्जागरणको अभियान अगाडि बढाइने जानकारी दिएका छन्। सदस्यता नवीकरण अभियानमार्फत पार्टीलाई फेरि बलियो बनाइने उनको भनाइ छ।

ओलीले इतिहासमा एमालेले धेरै चुनौती सामना गरेको स्मरण गराउँदै पार्टीका नेता–कार्यकर्तालाई सक्रिय भएर काममा जुट्न आह्वान गरेका छन्।