बालेन नेतृत्वको सरकारले ल्याएको बजेटमा नयाँ कार्यक्रम र नीति के छ ?

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेन नेतृत्वको सरकारले ल्याएको बजेटमा नयाँ कार्यक्रम र नीति के छ ?

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा धेरै नयाँ कार्यक्रम र नीति घोषणा गरिएको छ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले यसलाई “नागरिकसँग गरिएको करार” को सुरुवात भनेका छन्। बजेटमा कर प्रणाली सुधारलाई प्राथमिकतामा राखिएको छ। अन्तःशुल्क घटाइएको छ र ३१ वटा संरचना खारेज गरिएको छ। अर्थतन्त्र सुधार गर्न नयाँ नीतिगत व्यवस्था पनि ल्याइएको छ।

सरकारले सूचना प्रविधि क्षेत्रमा ध्यान दिँदै ‘एआई फ्याक्ट्री’ स्थापना गर्ने र नेपाललाई ‘टेक हब’ बनाउने योजना अघि सारेको छ। स्युचाटारमा एआई कम्प्युट क्षेत्र बनाइनेछ। कृषि क्षेत्रमा किसानलाई ४० प्रतिशत अनुदान दिने र किसान केन्द्रित कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।

काठमाडौं उपत्यकाको विकासका लागि ‘भिजन–२०४०’ योजना ल्याइएको छ भने कालीगण्डकी क्षेत्रमा शालिग्राम पथ निर्माण गर्ने योजना पनि समेटिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई सुधार गर्दै ‘सक्नेले छोडौँ, नसक्नेले जोडौँ’ भन्ने अवधारणा अघि सारिएको छ।

त्यस्तै काठमाडौंलाई धुलो र खाल्डोमुक्त बनाउने, काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकता दिने र विदेशी लगानी आकर्षित गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ। शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि नयाँ कार्यक्रम ल्याइएको छ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई निःशुल्क स्वास्थ्योपचार, विद्यालयमा सफा शौचालय अभियान र मधेशमा मिर्गौला उपचार तथा ट्रमा सेन्टर स्थापना गर्ने योजना सरकारले ल्याएको छ।